खानीखोला गाउँपालिकाद्वारा तीजमा श्रीमानहरुलाई सम्मान, स्वयंसेवीका र आमा समूह पनि पुरस्कृत
काभ्रेको खानीखोला गाउँपालिकाले हरितालिका तीजको अवसरमा श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान गरेर नयाँ सन्देश दिएको छ । पालिकाले समाजमा महिला जागरणका लागि नयाँ सन्देश दिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले बताए ।
पालिकाले आफ्नी श्रीमतीलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने हरेक वडाबाट एक–एक जना पुरुषलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको तीज विषेश शुभकामना आदान प्रदान कार्यक्रममा पालिकाको ७ वटा वडाबाट एक/एक जना गरी ७ जना पुरुषलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नं. १ देखि ७ सम्म क्रमशः क्षेत्रबहादुर गोले, दिलबहादुर वि.क, युवराज दोङ, बलीमान मोक्तान, रामबहादुर तामाङ, धनबहादुर थिङ र चन्द्र गोले रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्ष दोर्जेमान जिम्बाले प्रमाणपत्र र खादाले सम्मान गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले संविधानले दिइएको महिला अधिकारलाई पूर्ण रुपमा पालना गरेर श्रीमतीलाई सामाजिक अगुवाई गर्ने काममा सहयोग तथा प्रोत्साहन गर्ने पुरुषलाई सम्मान गरेको बताए । उनले चुलोचौकोमा मात्र आफ्ना छोरी÷श्रीमतीलाई सीमित नगरी सामाजिक तथा राजनीतिसँगै महिला तथा बालबालिकाको क्षेत्रमा अभियान्ताको रुपमा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । समाजमा अझै पनि पुरुष र महिलाबीच गर्ने व्यवहार समान हुन नसकेको भन्दै अध्यक्ष थिङले महिला ढिला घर आइपुगे भने स्पष्टीकरण दिनु पर्ने अवस्था अझै पनि समाजमा विद्यमान रहेको बताए ।
उत्कृष्ट स्वयम्सेविका र आमा समूह पुरस्कृत
कार्यक्रममा गाउँपालिकाभित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविका र सामाजिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आमा समूह पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उत्कृष्ट महिला स्वयमसेविकामा खानीखोला–५ की विनिता लामा सम्मानित भएकी छिन् भने खानीखोला–४ स्थित फुलडाँडामा रहेको प्रगतिशील आमा समूह उत्कृष्ट आमा समूह घोषित हुँदै पुरस्कृत भएको छ ।
तीज विशेष कार्यक्रममा नाचगान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै सामूहिक रुपमा दर खुवाइएको थियो । गाउँपालिकाको सभा हलमा भदौ २१ गते बसेको सर्वदलीय महिला संघ/संस्थाहरुको बैठकले साझा रुपमा तीज कार्यक्रम मनाउने निर्णय गरिएको थियो ।