कहाँ हराए चीनका रक्षामन्त्री, यस्तो छ अनुमान
एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले चिनियाँ रक्षा मन्त्री ली साङ्फूको अनुपस्थितिबारे प्रश्न उठाएका छन्। चिनियाँ रक्षामन्त्रीलाई भ्रष्टाचारसँग जोडिएको कुनै मामिलाका कारण कारबाही गरिएको हुनसक्ने आशङ्कामाझ जापानका लागि अमेरिकी राजदूतले त्यसबारे टिप्पणी गरेका हुन्।
राहम एमानुएलले चिनियाँ रक्षामन्त्री ली तीन सातादेखि नदेखिएको र उनले भियतनामको भ्रमण रद्द गरेकोबारे अड्कलबाजीसहित एउटा ट्विट गरेका छन्। उनले लेखेका छन्, “चीन सरकारभित्र बेरोजगारीको दर बढिरहेको छ।”
ली साङ्फूलाई चिनियाँ नेता सी जिनपिङप्रति वफादार मानिन्छ र उनी मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलरमध्ये एक हुन्।
बेइजिङले उक्त विषयमा प्रतिक्रिया जनाइसकेको छैन। कैयौँ उच्च पदस्थ सैनिक अधिकारीहरूलाई हालै पदबाट बर्खास्त गरिएको छ।
चीन र अमेरिकास्थित स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले शुक्रवार प्रकाशित गरेको विवरणमा लीलाई पदबाट हटाउन लागिएको उल्लेख छ। सार्वजनिक वृत्तबाट चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि यो घटना बाहिर आएको हो।
चिन गाङको अकस्मात् अनुपस्थिति र जुलाईमा उनलाई पदबाट गरिएको बर्खास्तिको कारण पूर्ण रूपमा खुलाइएको छैन।
जनरल लीकोबारेमा पनि चिनियाँ सरकारले केही भनेको छैन। यसै हप्ताको सुरुमा उनीबारे सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ताले आफू ‘उक्त परिस्थितिबारे जानकार नरहेको’ बताएकी थिइन्।
ली अन्तिम पटक बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरू सम्मिलित सुरक्षा फोरममा देखिएका थिए। हप्तौँसम्म चिनियाँ रक्षा मन्त्रीहरू सार्वजनिक मञ्चहरूमा देखा नपर्नु अनौठो भने होइन।
ली एरोस्पेश इन्जिनिअर हुन र उनले आफ्नो करिअर भूउपग्रह र रकेट प्रक्षेपण केन्द्रबाट सुरू गरेका थिए।
पूर्व विदेशमन्त्री चिनजस्तै उनी पनि राष्ट्रपति सी जिनपिङले अत्याधिक मन पराउने नेताका रूपमा मानिन्थे। उनी चिन गाङपछि सार्वजनिक रूपमा नदेखिएका दोस्रा मन्त्रिपरिषद् सदस्य र स्टेट काउन्सिलर हुन्।
चीनभित्र गएको अगस्टमा देशको रकेट प्रणाली सम्बन्धी फौजका दुई जना जर्नेलहरूलाई परिवर्तन गरिएपछि सेनाभित्र भ्रष्टाचारसम्बन्धी कदमहरू चालिएका ठानिएका थिए। सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्तिको केही महिनाभित्रै पदबाट हटाइएको थियो।
अघिल्लो हप्ता र शुक्रवार गरेको ट्विटमा जापानका लागि अमेरिकी राजदूत एमानुएलले लीको अनुपस्थिति र यसअघि चिन र अरू उच्च सैनिक अधिकारी नदेखिएका प्रसङ्ग उल्लेख गरेका थिए।
उनी हालै भियतनामको भ्रमण र सिङ्गापुरका नौ सेना प्रमुखसँग बेइजिङको बैठकमा पनि ‘अनुपस्थित भएको’ भन्दै उनले लीलाई घरमै नजरबन्दमा राखिएको हुनसक्ने आरोप लगाएका थिए।
बीबीसीबाट