देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघले आज आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

हेटौँडामा चिकित्सक कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै आइतबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको चिकित्सक संघले जनाएको छ ।

चिकित्सक संघको आन्दोलनका कारण आज सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् ।

गत साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका चिकित्सकद्वय विकास थापा र प्रशान्त विडारीमाथी कुटपिट गरेका थिए ।

उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले चिकित्सकलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट गरेको संघले दाबी गरेको छ । यस घटनामा प्रहरीले मृतकी श्रीमतीसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।