भौतिक पूर्वाधार मन्त्रालयका ९ जना सहसचिवहरुको सरुवा, यातायात विभागमा रिजाल
काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ९ जना सहसचिवहरुको सरुवा गरेको छ । यससँगै डेढ महिनापछि यातायात व्यवस्था विभागले नयाँ महानिर्देशक पाएको छ ।
यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराई ११ साउनमा सरुवा भएर गृह मन्त्रालय पुगेपछि रिक्त भएको सो पदमा उद्धबप्रसाद रिजाललाई जिम्मेवारी दिएको छ ।
यसैगरी सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यको सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको छ ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।
बलात्कार आरोपमा पक्राउ परेका पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेलको जिम्मेवारी खोसिएको छ । सडक विभागको पुलतर्फ उनको काज फिर्ता भएको स्रोतले जनाएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाएर पठाइएको छ ।
यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखाको उपमहानिर्देशकको रुपमा सरुवा गरिएको छ ।
उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख रहेका श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकमा पठाइएको छ ।
हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख शुभराज न्यौपाने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएका छन् ।
त्यस्तै उपमहानिर्देशक कुवेर नेपालीलाई सडक विभागको पुल आयोजना समन्वयकर्ताबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा जिम्मा दिइएको छ ।