
त्रिभुवन विमानस्थल बाहिरबाट झण्डै एक किलो सुन बरामद
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरण सेलाउन नपाउँदै त्रिभुवन विमानस्थल बाहिरबाट झण्डै एक किलो सुन बरामद भएको छ । सुनसँगै दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ९०० ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए । प्रहरीका अनु्सार उक्त सुन दुबईबाट नेपाल भित्राइएको थियो । तस्करहरुले मलद्वारमा लुकाएर सुन भित्राएको बताइएको छ ।
सुनसँगै दुई जना पक्राउ परेको र एक जना भने फरार भएको प्रहरीको भनाइ छ । यद्यपि उनीहरुको विवरण प्रहरीले खुलाएको छैन । प्रहरीले यसबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।
