ललिता निवास प्रकरणमा तुलाधरबाहेक सबै धरौटीमा रिहा, कसको धरौटी कति ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

धरौटी रकम भने सबैको फरक–फरक छ । अदालतले भाटभटेनी सुपरमार्केटका मालिक व्यवसायी मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिएको छ । यसैगरी कलाधर देउजा र विनोद पौडेलसँग समान १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

यस्तै अदालतले रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र र अरुणकुमार श्रेष्ठसँग समान सात लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

साथै, शिवजी भट्ट र ध्रुवप्रसाद अर्यालसँग समान तीन लाख ३० हजार तथा बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनसँग एक लाख १० हजार तथा लोकहरी घिमिरेसँग एक लाख ५० हजार धरौटी माग गरेको छ ।