सर्लाहीको मलङ्गवामा कर्फ्यु
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकीरबाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरेको छ।
शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवाद ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको थियो । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् ।
आज दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलङ्गवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर शनिबार बिहानैदेखि सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
घटनास्थलमा अहिले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ । प्रदर्शन र ढुङ्गामुढाका कारण बिहानैदेखि मलङ्गवा बजार क्षेत्रका पसल बन्द छन् । मलंगवाबाट चल्ने छोटा र लामो दूरीका यातायातका साधन पनि चल्न सकेका छैनन् ।
(((