चिनियाँ प्रतिबन्धले एप्पलाई ठूलो झट्काः दुई दिनमै गुमायो २ सय बिलियन डलर

मूलखबर संवाददाता
काठमाडौं

चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ। बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो।

उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य अघि सारेको छ। सोही नीतिअनुसार चीनले सरकारी निकायहरूमा आइफोनलगायत विदेशी डिभाइस प्रयोग गर्न प्रतिवन्ध गरेको हो।

उक्त रिपोर्ट सार्वजनिक भएसँगै आइफोनको सेयरमा २.९ प्रतिशतले गिरावट आएको छ। बिहीबार एप्पलको सेयरमा यस्तो गिरावट आएको सिएनएनले जनाएको छ। विश्वको निकै महत्वपूर्ण सार्वजनिक कम्पनीको यस्तो विषय बाहिरिएसँगै लगानीकहरूर्ता चिन्तित देखिएको उल्लेख छ।

चीनले आइफोन प्रतिबन्ध लगाउने हो भने एप्पलका लागि निकै ठूलो घाटा पुग्ने बताइएको छ। चीन आइफोनको निकै ठूलो बजार हो।

चीनमा भएको बिक्रीले गत वर्ष कम्पनीको कुल राजस्वको पाँचौ हिस्सा ओगटेको थियो। पछिल्लो त्रैमासिकमा पनि अमेरिकामा भन्दा चीनमा धेरै आइफोन बिक्री भएको थियो। एप्पलले आफ्ना अधिकांश उत्पादनहरू चिनियाँ कारखानाहरूमा उत्पादन गर्दै आएको छ।

चीनले अमेरिकालाई काउन्टर दिन आइफोनमा प्रतिबन्ध लगाउन खोजेको विश्लेषण गरिएको छ। अमेरिकाले चिनियाँ ह्वावे टेक्नोलोजीमाथि प्रतिबन्ध लगाएको छ। यद्यपि फाइभजी लगायतका पूर्वाधारमा अमेरिका सहितका देशले लगाएको प्रतिबन्ध लगाए पनि चिनियाँ ह्वावेले निरन्त रुपमा आम्दानीमा बृद्धिलाई कायम राख्न सफल भइरहेको छ । अमेरिकी प्रतिबन्धका कारण कम्पनीको उत्पादन र सञ्चालनमा काफी चुनौतिहरू देखा परिरहेका छन् ।

चिनियाँ केन्द्रीय सरकारी एजेन्सीसँग निकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले चिनियाँ अधिकारीले औपचारिक नीतिबिना नै महामारी अघिदेखि नै आईफोन प्रयोग नगर्ने नियम पालना गर्न थालेको उल्लेख गरेको छ ।