काठमाडौंबाट नक्कली नोटसहित एकजना पक्राउ

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौंको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौंको भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो ।

थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

आजै प्रहरीले एकजनालाई अवैध लागुऔषधसहित पनि पक्राउ गरेको छ । सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारी आज बिहान नागढुङ्गाबाट पक्राउ परेका हुन् ।

अन्सारीको साथबाट अवैध लागूऔषध फेनारगन एक सय ४२ एम्पुल, बुप्रेनुर्फिन एक सय ४७ एम्पुल, डाइजेपाम एक सय ३७ एम्पुल र नाईट्राभेट एक हजार पाँच सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अन्सारीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।