लगानी सुरक्षाको प्रत्याभूति सरकारले गर्छ : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

लगानी बोर्डको १२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास आवश्यकता पूर्ति गर्न लगानी चाहिने र सरकारले सबै खालका लगानीको सुरक्षा प्रत्याभूति गर्ने बताए ।

नेपालमा सार्वजनिक–निजी साझेदारी, प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको लगानी बढाउनका लागि नीति, नियम तथा कानूनमा सुधार, प्रक्रियागत सहजीकरण तथा संस्थागत क्षमता विकासका लागि सरकार तयार रहेको उनको भनाइ छ ।

‘हामीले साना, मझौला, ठूला सबैखालका लगानीकर्तालाई उत्तिकै महत्त्व दिएका छौँ । लगानीको सुरक्षाको प्रत्याभूति पनि भएको छ । नेपालमा निजी क्षेत्रको लगानी र प्रत्यक्ष वैदेशिक लगानी बढाउनका लागि निरन्तररूपमा लागिपरेका छौँ,’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकभित्र लगानीको वातावरण बनाउने विषय सरकारको मुख्य प्राथमिकतामा छ । समग्र परियोजना चक्रमा सहजीकरण गर्न सरकार तयार छ ।’ लगानीका लागि नेपाल आकर्षक मुलुक हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको पनि उनले बताए ।

लगानी बोर्डअन्तर्गत अघि बढिरहेका ठूला लगानीका आयोजनालाई सहजीकरण गर्न सरकार र मातहतका सबै निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए। लगानी बोर्डको कार्यालयले सीमित जनशक्ति र स्रोत–साधनका बावजुद पनि महत्त्वपूर्ण काम गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

लगानी बोर्डको कार्यालयको संस्थागत क्षमता विकासका लागि पनि सरकारले पहल गर्ने उनले बताए । सार्वजनिक–निजी साझेदारी ऐनले लगानी बोर्डलाई लगानी प्रवर्द्धन र सहजीकरणका लागि स्रोत केन्द्रका रूपमा स्थापना गर्ने उद्देश्य राखेको पनि उनले स्पष्ट पारे ।