विधेयकहरु अलपत्र पारेर राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । विचाराधीन विधेयकहरु अलपत्र पारेर राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
यसअघि यही भदौ २४ गते बिहान ११ बजे बस्ने तय भएको बैठक अध्यक्ष गणेश प्रसाद तिमिल्सनाको निर्देशनपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाबाट बैठकको नयाँ मिति र समय तोक्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका छन् ।
राष्ट्रिय सभामा ३ वटा विधेयकहरु विचाराधीन छन् । अध्यागमन विधेयक, विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक अब अलपत्र परेका छन् ।
अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल पछि प्रतिवेदन तयार पारेर सभामा पेश भइसकेको छ भने विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको क्रममा छन् ।