
आजको मौसमः देशभर हल्कादेखि मध्यम वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
आज (शुक्रबार) बिहानसम्म कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।
