
२०८४ मा ठूलो पार्टी बन्छौं, काम गर्न नसके जनतासामु आउँदैनौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी २०८४ सालको चुनावमा नागरिकले रास्वपालाई देशकै पहिलो शक्ति बनाए पाँच वर्षभित्र देशमा ठूलो परिवर्तन गर्ने र त्यो गर्न नसके जनतासामु कहिल्यै नआउने बताएका छन् ।
बिहीबार पहिलो पटक ताप्लेजुङ गएका रास्वपा सभापति लामिछनेले सदरमुकाम फुङलिङको तोक्मेडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नागरिकले राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै लामिछानेले नागरिकका अभिलाषा रास्वपाले पूरा गर्ने बताए ।
युवाहरूलाई देशमै राख्ने र कतिपय नेता चुनाव जितेपछि जिल्लामा फर्किएर नआउने गरेकाले त्यसको अन्त्यका लागि आफ्नो पार्टीको उदय भएको दाबी लामिछानेले गरे ।
