वडाध्यक्ष रिजालको अन्त्येष्टि, काठमाडौं महानगरमा शुक्रबार शोक विदा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । आज बिहान निधन भएका काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको थियो । उनको दुवै फोक्सोमा भाइरल निमोनिया भएको थियो ।

स्वर्गीय रिजालको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरको तर्फबाट राष्ट्रिय सभागृह र पार्टीको तर्फबाट पशुपतिमा राखिएको थियो । राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए भने पशुपतिमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको झण्डा ओढाएका थिए ।

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा उनका छोरा सन्देश र सार्थक रिजालले दागबत्ती दिएका थिए । उनको अन्तिम संस्कारमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू डा शशांक कोइराला र प्रकाशमान सिंह, नेताहरू शङ्कर भण्डारी, नैनसिंह महर, उर्मिला थपलिया, बागमती प्रदेशका मन्त्री बहादुरसिंह लामालगायत केन्द्रीय र प्रदेशका नेता तथा मन्त्रीको सहभागिता थियो ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । ५३ वर्षीय स्वर्गीय रिजालका बुबा, आमा, श्रीमती र दुई छोरा छन् ।

यसैबीच वडाध्यक्ष रिजालको निधनको शोकमा शुक्रबार काठमाडौँ महानगरपालिकाले शिक्षण संस्थाबाहेकमा शोक बिदा दिएको छ । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको निधनमा महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी दिए ।