
एसिया कप क्रिकेटः बंगलादेशमाथि पाकिस्तानको शानदार जित, फाइनल पुग्ने सम्भावना
एसिया कप क्रिकेटको सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ
लाहोरको गद्दाफी स्टेडियममा गएराति भएको खेलमा पाकिस्तानले बंगलादेशमाथि ७ विकेटको शानदार जित निकालेको हो । जितको लागि १ सय ९४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।पाकिस्तानका ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए भने मोहम्मद रिजवान ६३ रनमा नट आउट रहे ।
बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक/एक विकेट लिए ।
त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अल आउट भयो । बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले ६४ र कप्तान सकिब अल हसनले ५३ रन बनाए ।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ र नसिम शाहले ३ विकेट लिए ।
सुपर फोरमा पुगेका पाकिस्तान, बंगलादेश, भारत र श्रीलंकाले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।
