ईयूको नियम अगाडि झुक्यो एप्पल, नयाँ आईफोनमा ‘टाइप सी’ चार्जर

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । एप्पल कम्पनीले नयाँ आईफोनमा यूएसबी टाइप सी चार्जर राख्ने निश्चित भएको छ । यसअघि एप्पलले उत्पादन गरेका मोबाइलमा लाइटनिङ टाइपका चार्जर प्रयोग हुँदै आएको थियो, जुन सामसङ, एमआई लगायतका अन्य मोबाइल कम्पनीको चार्जर लाग्दैनथ्यो ।

युरोपेली सङ्घ ईयूले विद्युतीय फोहोर न्युनीकरण गर्ने र उपभोक्ताको पैसा बचत गराउने उद्देश्यले सबै मोबाइलमा एकै प्रकारका (टाइप सी) चार्जर प्रयोगमा ल्याउनुपर्ने नियम बनाएको छ । बनाएको छ । सो नियम अनुसार हाल आइरहेका नयाँ मोडेलका फोनहरु सबैमा टाइप सी चार्जर प्रयोग हुन्छ ।

विगतमा ईयूको नियमलाई चुनौती दिँदै आफ्नो अलग्गै प्रकारको चार्जर प्रयोग हुने गरी आफ्ना वस्तु र तिनका चार्जर उत्पादन गर्दै आएको एप्पलले आगामी सेप्टेम्बर १२ मा सार्वजनिक हुने भनिएको नयाँ आईफोनमा भने टाइप सी चार्जर प्रयोग गर्न मिल्ने बनाउने निश्चित भएको बीबीसीले जनाएको छ ।

‘एपलको विश्वव्यापी उत्पादनमा नै यस्तो परिवर्तन हुन लागेको हो वा युरोपमा मात्रै भन्ने स्पष्ट छैन,’ बीबीसीको समाचारमा लेखिएको छ, ‘तर यो प्रविधि कम्पनीले युरोपेली बजारका लागि मात्रै छुट्टै उत्पादन बनाउने सम्भावना निकै कम छ।’

ईयूको कानुनले उपभोक्ताहरूको पैसा बचत र त्यसबाट निस्किने फोहोर कम गर्न मोबाइल फोन उत्पादकहरूलाई सन् २०२४ भित्र समान किसिमको चार्जिङ कनेक्शन बनाउन अनिवार्य गरेको छ। ईयूले यो कानुन सन् २०२१ मै बनाएको थियो ।

सो नियममा मोबाइल फोन, ट्याब्लेट, ई–रीडर, माउस र कीबोर्ड, जीपीएस उपकरण, हेडफोन, हेडसेट र इअरफोन, डिजिटल क्यामेरा, हाते भिडियोगेम कन्सोल र बोकेर हिँड्न मिल्ने स्पीकर जसले उत्पादन गरेको भए पनि यूएसबी टाइप सी पोर्ट हुनुपर्ने उल्लेख छ ।

ब्लूम्बर्ग न्यूजका अनुसार एकै प्रकारको चार्जिङ पोइन्ट हुँदा उपभोक्ताहरूले एउटै चार्जरबाट आईप्याड, म्याक र आईफोन चार्ज गर्न सक्छन्। त्यसबाट डाउनलोड गति तीव्र हुने, एकै प्रकारका चार्जर सबै उत्पादनमा प्रयोग गर्न पाउने सुविधाले उपभोक्ताको पैसा पनि बचत हुने र थरी थरीका चार्जर प्रयोग गर्दा बढ्ने विद्युतीय सामग्रीको फोहोर पनि कम हुने विश्वास छ ।

ईयूको यस्तो निर्णयबाट अनावश्यक चार्जर खरिदमा उपभोक्ताहरूको ३५ अर्ब नेपाली रुपैयाँ बराबरको वार्षिक खर्च जोगिन सक्ने र  फोहोर उत्पादन पनि प्रतिवर्ष ११ हजार टन कमी आउने दाबी गरिएको छ।