
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।
टाउकोमा चोट लागेर रगताम्य भएका यादवलाई तत्कालै ट्रमा सेन्टरमा पुर्याइएको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका घर भई हाल काठमाडौंको बालाजु बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा छन् ।
घटनाबारे अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
