द्रुत गतिका ५१ विद्युतीय ‘चार्जिङ स्टेसन’ सञ्चालनमा
नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको द्रुत गतिको चार्जिङ स्टेसनको आरभ्म गरे।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब रु ४० करोड लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानाठूला कारहरु चार्ज गर्न मिल्नेछन् ।
विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने र यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताईएको छ । यसका साथै प्राधिकरणले देशभर थप पाँच सयवटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको छ।
चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
आन्तरिक रुपमा विद्युत्को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो ।
हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । यसबाट ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग रु ३७ करोड ७९ लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
प्राधिकरणका अनुसार धादिङको धार्केमा दुई, चितवन मुग्लिन र पार बसपार्कमा एक÷एकमा एक, काठमाडौँमा चारलगायत देशैभर द्रुतगतिको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । प्राधिकरणले निकट भविष्यमा नै थप ११ त्यस्ता स्टेसन निर्माण गरिरहेको छ ।