नेपालको छिमेकी भारत हो कि इण्डियाः एउटा निम्तो कार्डले निम्त्याएको तातो बहस

मूलखबर संवाददाता
काठमाडौं

नेपालको दक्षिणी छिमेकी देश भारतमा यतिबेला नामको बहस चलेको छ। भारतलाई भारत भन्ने कि इण्डिया भन्ने विषयमा अहिले बहस भइरहेको हो। भारतलाई चलनचल्तीको अंग्रेजीमा इन्डिया र हिन्दीमा भारत भनिन्छ। अंग्रेजीमा लेख्दा गभर्मेन्ट अफ इन्डिया र हिन्दीमा लेख्दा भारत सरकार लेख्ने चलन छ।

तर केही दिनपछि हुन लागेको जी-२० मुलुकको शिखर सम्मेलनका लागि राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रीभोजको निम्तोमा भने ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ।

भारतको राष्ट्रपति कार्यालयको वेबसाइटमा पनि अंग्रेजीमा प्रेसिडेन्ट अफ इन्डिया लेखिएको छ भने हिन्दीमा भारतकी राष्ट्रपति लेखिएको छ। जी-२० का शीर्ष नेताहरूको सम्मानमा राष्ट्रपति मुर्मुले दिने रात्रीभोजको निम्तोमा सात दशकदेखि चलिआएको प्रेसिडेन्ट अफ इन्डिया लेख्ने चलन तोडिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका छन्।

द इन्डियन एक्सप्रेस समाचार पत्रका अनुसार सेप्टेम्बर १८ देखि सुरू हुने भारतीय संसदको विशेष अधिवेशनमा सरकारले संविधानबाट इन्डिया भन्ने शब्द हटाउनका लागि प्रस्ताव पेस गर्ने चर्चाका बीच राष्ट्रपति कार्यालयले डिनरको निम्तोमा इन्डिया शब्द हटाएको हो। भारतको संविधानको पहिलो धारामै इन्डिया, द्‍याट इज भारत, स्याल बी अ युनियन अफ स्टेट्स भनी लेखिएको छ। हिन्दी संस्करणमा त्यसलाई ‘भारत, अर्थात् इन्डिया, राज्यका संघ होगा’ भनिएको छ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यही इन्डिया शब्द हटाउने तयारी गरेको चर्चा चलिरहेको छ। भाजपाका नेताहरूले इन्डिया शब्द उपनिवेशकालमा विदेशीहरूले राखिदिएकाले त्यसमा उपनिवेशिता देखिने भन्दै आएका छन्। पछिल्लो समय भाजपाले इन्डिया शब्दमाथि आक्रमण गर्नुको अर्को पनि कारण छ।

भारतका विपक्षी दलहरू मिलेर हालै इन्डियन नेशनल डेभलपमेन्टल एलाइन्स बनाएका छन्। जसको नाम उनीहरूले छोटकरीमा इन्डिया राखेका छन्। गठबन्धनको नाम इन्डिया राखेर विपक्षी दलहरूले दासत्वको मानसिकता देखाएको भाजपाका नेताहरूको आरोप छ।

यही बीचमा राष्ट्रपति कार्यालयले नै इन्डिया शब्द हटाएर भारत राखेपछि नेताहरूले पक्ष-विपक्षमा तर्क गरेका छन्। कंग्रेस आईका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै अब संविधानमा भएको भारत राज्यहरूको संघ हो भन्ने कुरा पनि खतरामा परेको उल्लेख गरेका छन्।

उता भाजपाबाट असमका मुख्यमन्त्री बनेका हिमान्त विश्वा शर्माले आफ्नो एक्सको बायोमा चिफ मिनिस्टर अफ असम, भारत बनाएका छन्। एक्समा कंग्रेस नेता रमेशको स्टाटस रिपोस्ट गर्दै शर्माले विपक्षीहरूले भारतलाई खत्तम पार्न आफ्नो गठबन्धनको नाम नै इन्डिया राखेको आरोप लगाएका छन्। यो विषयमा आम भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि तर्क-वितर्क गरिरहेका छन्।