माओवादी केन्द्र दाङले १०० वडामा डिजिटल प्रविधियुक्त पार्टी कार्यालय स्थापना गर्ने

मूलखबर संवाददाता
काठमाडौं

दाङ । नेकपा माओवादी केन्द्र दाङले जिल्लाका एक सय वटै वडामा  डिजिटल प्रविधियुक्त पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत आज घोराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका स्थायी कमिटी सदस्य एवंम् अभियानका जिल्ला संयोजक जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले तीन महिने अभियानलाई व्यवस्थित गर्न डिजिटल प्रविधियुक्त पार्टी कार्यालय सन्चालन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।

वडा कार्यालयमा कर्मचारी, कम्प्युटर र इन्टरनेटको व्यवस्था गरी सम्पूर्ण कामको अभिलेख राखिने छ । ‘अहिलेकाे जमाना नै डिजटलयुक्त हाे, अब हाम्रा सबै गतिविधिकाे अभिलेख डिजिटल प्रविधिबाट गरिने छ,’ माओवादी केन्द्र दाङका सचिव आचार्यले भने, ‘अब हाम्रा एक सय ओटै वडा र १० पालिकाले आफूले गरेका सबै गतिविधि कम्प्युटरकृत गरेर माथिल्लो कमिटी समक्ष पेश गर्नुपर्ने छ ।’

यो कामका लागि पार्टीले सबै वडा कमिटीमा कम्युटर सम्बन्धी काम गर्न जान्ने कर्मचारीकाे व्यवस्था गर्ने छ ।

यस्तै बैठकले १० वटा पालिकामा बैंक खाता सन्चालन गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने र अभियानको क्रममा श्रमशिविर सन्चालन गर्ने निर्णयसमेत गरेको जिल्ला सचिव आचार्यले जानकारी दिए ।