
एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति
१८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको अवस्था अनुगमन गर्न ५ सदस्यीय समिति बनाएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले अुनगमन समिति गठन गरेको हो ।
उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार अर्का एक सदस्य भने विषयविज्ञ रहने छन् ।
ब्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको अनुगमन गर्ने र संसदीय अनुगमनका लागि दबाब दिने उद्देश्यले अनुगमन समिति बनाएको एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
