बालेनको शासनः महानगरको गाडी चेकमा परेपछि सिंहदरबार जलाउने धम्की

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले शनिबार फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनेका यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।

स्रोतका अनुसार शनिबार बेलुकी भक्तपुरतिरबाट आएको गाडीलाई काेटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिवार चलाउन प्रशासनको पत्र चाहिने जानकारी दिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताए ।

नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने,‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले बताए ।

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । स्रोतका अनुसार गाडीको पछाडि सिटमा मेयर पत्नी सवार थिइन् । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनकाे स्ट्याटस आएको हो ।