
श्रमदान, सरसफाइ र सहिद परिवारलाई सम्मान गरेर रूपान्तरण अभियान शुभारम्भ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले श्रमदान, सरसफाइ र सहिद परिवार सम्मान लगायतका कार्यक्रम गरेर ‘जनतासँग माओवादी : विषेश रुपान्तरण अभियान’को शुभारम्भ गरेको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडाहरुमा सहिद गुम्वा सिंह तामाङकी आमा र बहादुरसिंह तामाङको परिवारसहित सहिद परिवारलाई सम्मान गरिएको छ ।
यसैगरी वडा नं ३ मा वडा कार्यलय उदघाटन, वडा नं ४ मा पहिरो हटाएर बाटो निर्माणमा श्रमदान, महाकाली मन्दिर परिसर सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।
यसैगरी वडा नं ८ मा प्रशिक्षणात्मक अन्तरक्रिया गरिएको छ । वडा नं १,२,५,६ र ७ मा बैठक तथा अन्तरक्रिया र ९, १० र ११ मा व्यानर सहितको कार्यक्रम गरिएको नेता माओवादी केन्द्रका युवा नेता सन्तोष पौडेलले जानकारी दिए ।
नेता पौडेलका अनुसार अभियान अवधिभर मञ्च नबनाउने, अतिथिको लाइन नलगाउने, खादा माला नलगाउने, सहिद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र जनमुक्ति सेनाका योद्धालाई अभियानमा ससम्मान सहभागी गराउने र सम्मान गर्ने, महिला वक्तालाई समय दिने, कार्यक्रम छोटो र परिणाममुखी गर्ने, प्रत्येक हप्ता शनिवार जनश्रम गर्ने, अरूको आलोचनामा भन्दा आफ्नो सबलपक्ष र एजेन्डामा बढी छलफल गर्ने तथा पूर्व माओवादी र जनतासँग पर्याप्त अन्तरक्रिया गर्ने विधि निर्माण गरिएको छ ।
रुपान्तरण अभियान उदघाटनको दिन आज मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा पनि श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माणका काम गरिएको छ ।
माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उदघाटन गर्ने क्रममा केन्द्रीय सदस्य जनतासँग श्रमदानमा जोडिएका हुन् ।
मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बागमती गाउँपालिका–७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
यसका साथै अन्य वडामा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उनले बताए ।
बागमती गाउँपालिका वडा नम्बर ६ मा वडाको एक उत्कृष्ट स्कुल जनहित आधारभूत विद्यालयलाई छनोट र सम्मान गरेर ३ महिने रूपान्तरण अभियान शुभारम्भ गरिएको छ ।
साथै स्कुलमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरू, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, स्कुलका प्रधानाध्यापक, वर्तमान व्यवस्थापन समितिका अध्यक्ष, सुरूमा त्यहाँ पढेर स्नातकोत्तरसम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरू, पूर्वशिक्षिका, शिक्षक र खेलकुदमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरेर आज पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।
यता, भीमफेदी गाउँपालिकामा भने त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने काम गरिएको पार्टीका पालिका अध्यक्ष बद्री स्याङ्तानले जानकारी दिए ।
थाहा नगरपालिकामा माओवादी केन्द्रले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणका विषयमा जनतालाई सोध्ने लगायत काम गरेको माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद लामाले जानकारी दिए।
त्यसैगरी राक्सीराङ गाउँपालिकाले कमिटीले वडा ५ स्थित विर्षे खोलामा आवतजावतमा बाधा पुगेका कारण ह्युमपाइप हालिएको पार्टीका पालिका इञ्चार्ज एवं गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले जनाए ।
माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिए।
यसैगरी पाल्पाको तिनाउँ गाउँपालिका ३ मा अवस्थित सहिद चुनु स्मृति पार्क र वडा नम्बर २ मा अवस्थित सहिद अबिरल पार्क सरसफाइ गरेर माओवादी रुपान्तरण अभियान शुभारम्भ गरिएको छ । यहाँको नेतृत्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री इन्द्रजित थारुले गरेका छन् ।
