
पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित, केन्द्रको नेतृत्वमा पुग्ने लक्ष्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
ललितपुरमा आज भएको निर्वाचनमा उमेश पियालाई ९ भोटले पछि पार्दै पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका हुन् । पारसले २३ मत र पियाले १४ मत पाए ।
१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।
बागमती प्रदेश क्रिकेट संघमा अब चार वर्ष खड्काले नेतृत्व गर्नेछन् ।
क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिव लड्ने योजनामा छन् ।
उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका थिए ।
