मुख्यमन्त्री निवासको साँचोसँगै प्रधानमन्त्रीको सन्देशः प्रचण्डले सुशासनमा कम्प्रोमाइज गर्दैन

मूलखबर संवाददाता
काठमाडौं

ललितपुरको सैँबु भैँसेपाटीमा सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीहरूका लागि सम्पर्क कार्यालय तथा निवास निर्माण भएका छन् । भवनहरूको प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताए । राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उनले उद्घोष गरे ।

प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनमा सरकारले एक पाइला अघि सारेको बताए।

प्रधानमन्त्री प्रचण्डले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा विश्वसामु चिनाउने आफ्नो चाहना रहेको बताए।

आफ्नो ठाउँबाट सबैलाई समझदारी बनाएर अगाडि बढ्ने प्रयास गर्दै आएको उनको भनाइ थियो। ‘आजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन पनि हो । यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ। मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु, म त्यसका लागि सबैलाई आग्रह गर्छु,’ उनले भने।

यस्तै प्रचण्डले भवनमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले गर्ने सेवा प्रवाहले देशको संघीयता र त्यसको प्रभावलाई झल्काउने बताए। ‘यी भवन निर्माणको विषयमा प्रश्न उठ्न सक्छन् । तर प्रदेशहरूको स्थायित्व बढाउने हिसाबले यी भवनमा गरिएको लगानी अर्थपूर्ण छ । मैले संघीयता संस्थागत गर्ने बाटोमा पनि हामीले एक कदम अघि अगाडि बढाएको महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।

‘स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि जाने प्रयास गर्दै आएको छु ।’

विसं २०७६ असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएर चार वर्षभित्र निवास भवन सम्पन्न गरिएको हो । सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक÷एक भवन एउटै कोलोनिमा निर्माण गरिएको छ ।

सत्र रोपनी सात आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र आठ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ । अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित ८५ करोड रहेको मन्त्रालयले जनाएको छ । केसी–समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्री हस्तान्तरण गरे । प्रधानमन्त्री दाहालले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको भवन निरीक्षण पनि गरेका थिए ।

उद्घाटन समारोहमा संघीय मन्त्रीहरु, सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्री, मुख्यसचिव, ललितपुर महानगरपालिकाका प्रमुख, ललितपुरका जनप्रतिनिधि उच्च सरकारी अधिकारीलगगायतको सहभागिता थियो ।