आजको मौसमः सुधारको क्रम सुरु, केही ठाउँमा मात्र हल्कादेखि मध्यम वर्षा

मूलखबर संवाददाता
काठमाडौं

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।

आज (सोमबार) बिहानसम्म कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।