यस्तो छ भैँसेपाटीमा बनाइएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सरकारी निवास

मूलखबर संवाददाता
काठमाडौं

१० भदौ, काठमाडौं । ललितपुरको भैँसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सरकारी आवास तयार भएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला बस्नका लागि सरकारले ७५ करोड रुपैयाँभन्दा बढी लगानीमा सुविधा सम्पन्न आवास गृह बनाएको हो ।

यसअघि प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा केन्द्र सरकारले अपार्टमेन्टमा मासिक झण्डै ९ लाख रुपैयाँ तिरेर राख्दै आएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले साउनयता भने त्यो सुविधा कटौती गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार भैँसेपाटीको सरकारी आवासको उदघाटन गरेका छन् । उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले संघीयता संस्थागत गर्ने बाटोमा सरकार अघि बढेको बताए ।

यस्तो छ भैँसेपाटीको सरकारी निवास

भैँसेपाटीमा बनाइएको सरकारी आवास २७ रोपनी १२ आना जग्गामा फैलिएको छ । त्यहाँ सातै वटा प्रदेशका लागि ७ वटा भवन छन् । तीन तलाका ७ वटा भवनमा १४ वटा ब्लक छन् । जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिने छ ।

प्रत्येक ब्लकमा रहेका दुईवटा इकाई प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि हुनेछ । जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरेका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्य मन्त्रीको निवास अवलोकन समेत गरेका थिए ।

मन्त्री निवास पनि भन्दै

भैँसेपाटीमै संघीय सरकारका मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख र उपसभामुखका लागि पनि नयाँ सुविधासम्पन्न आवासगृह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसका लागि २७ वटा भवन बनिरहेका छन् ।

९६ रोपनी जग्गामा निर्माणाधिन ती भवन कात्तिकसम्म सम्पन्न गरिसक्ने लक्ष्य छ । त्यहाँ जिम हल, स्विमिङ पुलसम्म हुनेछन् ।

मन्त्रीहरूका लागि हाल ललितपुरको पुल्चोकमा क्वाटर छ । अहिले मन्त्रीहरू बस्दै आएको पुल्चोकको क्वाटर भने न्यायाधीशहरुले प्रयोग गर्ने छन् । न्यायाधीशहरूका लागि सरकारले घर भाडा खर्च दिँदै आएको छ । घर भएकाले भने मर्मत खर्च, धारा, बिजुलीको महसुल पनि सरकारले तिरिदिने गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष, सभामुख र उपसभामुखका भने बालुवाटार क्षेत्रमा सरकारी निवास छन् ।