
आजको मौसमः न्यून चापीय रेखा उत्तरमा, पहाडी क्षेत्रमा मध्यम वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
आज (आइतबार) बिहानसम्म कोशी, मधेस र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
