आजको मौसमः यी स्थानमा हुने छ भारी वर्षा

मूलखबर संवाददाता
काठमाडौं

आज कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्दा सप्तकोशीमा पानीको बहाब बढ्ने गरेको छ । भीषण वर्षाले तराईमा डुबान हुने गरेको छ । वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, पहिरो, भूक्षयजस्ता प्रकोप हुने सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

महाशाखाका अनुसार कोशीसँगै बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिजोसम्म निरन्तर भएको झरीमा आजदेखि सुधार आउने मौसमविदले बताएका छन् । भोलिको मौसम पूर्वानुमानअनुसार, कुनै पनि प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छैन । भोलि आइतबार देशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा सामान्य पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गत बुधबारदेखि हिजाेसम्म देशका धेरै ठाउँमा झरी परेकाे थियाे ।