एसिया कपको पूर्वसन्ध्याः विश्वलाई केही नयाँ दिने नेपाली टिमको तयारी (फोटो फिचर)
एसिया कप खेल्नका लागि पाकिस्तान गएको नेपाली क्रिकेट टोलीले अभ्यास थालेको छ। एसिया कप खेल्नुअघि पाकिस्तानमा केही दिनअगावै पुगेको टोलीले त्यहाँ आफ्नो अभ्यास थालेको हो।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले विश्वले यसपटक केही नयाँ देख्ने बताएका छन्। भदौ १३ गते उद्घाटन खेल आयोजक पाकिस्तानसँग खेल्नुपूर्व नेपाली टीमले त्यहाँ केही अभ्यास खेलहरू खेल्नेछ ।
भारत र पाकिस्तानजस्ता क्रिकेटका महारथीहरूसँग पहिलोपटक भिड्न लागेको हुँदा नेपाली समर्थकहरू निकै उत्साहित छन् । दुवै देशले आफ्नो पहिलो श्रेणीको टीम एसिया कपमा सहभागी गराएकाले नेपालका लागि यी दुई खेल अहिलेसम्मकै चुनौतिपूर्ण हुनेमा शंका छैन । यी देशहरूसँग नेपाली टीमले प्रतिस्पर्धात्मक क्रिकेट खेल्यो भने त्यो पनि ठूलो उपलब्धि मान्न सकिनेछ ।
भारत र पाकिस्तानसँग नेपाली टीमले सहजै आत्मसमर्पण नगरोस्- समर्थकहरू यही चाहन्छन् । अहिलेको नेपाली टीमले धेरैवटा एतिहासिक सफलता दिलाएको छ । सम्भवतः नेपालको इतिहासमै यो सर्वोत्कृष्ट टीम हो । यो टीम विगतमा जस्तो कुनै २-३ जना खेलाडीमा निर्भर छैन । सबैजनाले आफूलाई ‘म्याच विनर’ सावित गरेका छन् । यही टीम हो जसले विश्वकप लिग २ का पछिल्ला १२ म्याचमध्ये ११ वटामा जित दिलाउँदै विश्वकप छनोटमा स्थान बनाउन सफल भएको थियो ।
नेपालले पाकिस्तानसँगको म्याच पाकिस्तानमै र भारतसँगको म्याच श्रीलंकामा खेल्दैछ । नेपाली टीमसँग आशा गर्न सकिने ठाउँ यसकारण छ कि यी दुवै देशका पीचहरू प्राय स्पिनमैत्री हुन्छन् । नेपालको कमजोरी फास्ट बलिङ हो । हाम्रा ब्याट्सम्यानहरू तुलनात्मकरूपमा स्पिनरलाई राम्ररी झेल्न सक्छन् । अनि, नेपालको मुख्य स्ट्रेन्थ भनेको स्पिन आक्रमण हो । स्पिनमैत्री पीचमा नेपालका स्पिनरले विश्वस्तरीय ब्याट्सम्यानहरूलाई पनि आच्छु आच्छु पार्न सक्छन् ।
नेपालले अहिलेसम्मकै ठूलो प्रतियोगिता खेल्न गइरहेकाले टीम सेलेक्सनमा कुनै ‘एक्सपेरिमेन्ट’ को सम्भावना न्यून छ । तेस्रो नम्बरमा कसले ब्याटिङ गर्छ भन्नेबाहेक अरु लगभग फिक्स्ड नै छ । ओपनिङ जोडीका रूपमा कुशल भुर्तेल र आसिफ शेख आउनेछन् । तेस्रो नम्बरमा परिस्थिति हेरेर भीम सार्की वा कुशल मल्लमध्ये एकलाई पठाइनेछ । त्यसपछि क्रमशः रोहित पौडेल, कुशल/भीम, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी ब्याटिङमा उत्रिनेछन् । ८ देखि ११ नम्बरमा गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहनेछन् । नेपालले एकजना ब्याट्सम्यान कम गरेर ललित राजवंशीलाई पनि प्लेइङ ११ मा समावेश गर्न सक्छ । उनका लागि सम्भवतः आरिफ शेख र भीम सार्कीमध्ये एकजना बाहिर हुनुपर्ने देखिन्छ ।
नेपाली टीम धेरैवटा विशेषताले सुसज्जित छ । टीममा हरेक शैलीका ब्याट्सम्यानहरू छन् । कुशल भुर्तेल, कुशल मल्ल, करण केसीले विष्फोटक रूपमा खेल्न सक्छन् ।
रोहित पौडेल, भीम सार्की र आरिफ शेखले रक्षात्मक खेल्छन् । दीपेन्द्रसिंह ऐरी परिस्थितिअनुसार जस्तो रूपमा पनि लिन सक्छन् । पछिल्लो क्रममा आउने गुल्शन झा, सन्दीप लामिछाने र सोमपाल कामीसँग पनि ब्याटिङ कौशल छ ।