वैदेशिक रोजगारीका समस्या समाधानमा सरकार अग्रसर, मुख्य सचिवको नेतृत्वमा बन्यो कार्यदल

मूलखबर संवाददाता
काठमाडौं

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका समस्या समाधानमा ब्रेक थ्रू गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरवारमा आयोजित श्रम आप्रवासन सम्वन्धी विद्यमान समस्या तथा समाधानसम्वन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्क र अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल संकलन गर्न समेत निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीका सम्वन्धमा मिडिल इस्टमा एक थरी समस्या छन्, एशिया यूरोप अमेरीका र गल्फ कन्ट्रीका समस्या एकै प्रकृतिका छैनन् । त्यसकारण सबैभन्दा पहिले त हाम्रो देशबाट रोजगारीमा गएकाहरूको संख्या, गरिरहेका कामका प्रकार, अहिलेको अवस्था, डकुमेन्टेड वा अनडकुमेन्टेड के छन् ? विगत १० वर्षदेखिको प्रवृत्ती हेर्दा कस्ता प्रकृतिका समस्याहरु देखिए, त्याहाँका श्रम आप्रवासन सम्वन्धी सम्वन्धी कानूनी विषय के छ ? लगायतका विषयमा पहिले त हामीसँग यथार्थ र वास्तविक तथ्याँक र अध्ययन अनुसन्धान चाहियो । यसको समस्याको तत्काल समाधानको ब्रेक थ्रू चाहियो ।’

प्रधानमन्त्री प्रचण्डले देश गरिब हुँदा दुख पाइएको बताउँदै देश धनी बनाउने दिशातर्फ केन्द्रित हुनेगरी बैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी बनाउँन आवश्यक भएको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र वैधानिक फ्रेमवर्कमा ल्याउन विशेष अभियान चलाउनु पर्ने बताउँदै उनले वैदेशिक रोजगारमा हुने ठगीलाई कसरी अन्त्य गर्ने विशेष योजना बनाउँन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी देश गरीब भएर नै सबै समस्या आएको हो । देश धनी भए अन्य देशका कामदार ल्याउन सकिन्थ्यो । अब देश धनी बनाउने दिशातर्फ केन्द्रित हुँदै बैदेशिक रोजगारलाई वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी र संवैधानिक प्रमेवर्कमा ल्याउनु पर्दछ ।’

श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्ककाे कमी रहेकाे बताउँदै उनले अध्ययन अनुसन्धानका लागि ती विवरण तत्काल संकलन गर्न निर्देशन दिए ।

मुख्य सचिवको नेतृत्वमा कार्यदल गठन

आजको छलफलबाट श्रम आप्रवासनको यथार्थ विवरण संकलन गर्न मुख्य सचिवको नेतृत्वमा अर्थ, श्रम, परराष्ट्र लगायतका सचिवजीहरूकाे नेतृत्वमा रहेको कार्यदललाई ५ दिन भित्र टिओआर ड्राफ्ट तयार गरी पेश गर्ने समय दिइएको छ ।

यसैका आधारमा सबै दूतावासहरूमा लेखि पठाउने, सरकारलाई आवश्यक तथ्याँक र सूचनाका सम्वन्धमा सबै नेपाली राजदूतावासहरुबाट सुझाव माग्ने निर्णय गरिएको छ ।

दूतावासबाट अध्ययन भइसकेपछि भाद्र २४, २५ र २६ गते तीन दिनसम्म विदेशमा रहेका सबै नेपालका राजदूत र नेपालका अन्य सरोकारवाला निकायहरूको सहभागितामा बृहत वर्कसप राख्ने, रणनीति र योजना बनाउने अनि कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

छलफलमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री, उपप्रधान एवं गृह मन्त्री, श्रम मन्त्री, परराष्ट्र मन्त्री मुख्य सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, परराष्ट्रका निमित्त सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायतको सहभागिता थियो ।