चन्द्रमामा भारतले रच्यो इतिहास, चन्द्रयान सफलतापूर्वक अवतरण

मूलखबर संवाददाता
काठमाडौं

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा स्थानीय समय अनुसार आज बेलुका करिब सवा ६ बजे चन्द्रमामा अवतरण गर्न सफल भएको हो ।

अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् ।

चन्द्रमामा अवतरण गरेको विक्रम नामको ल्याण्डरबाट प्रज्ञान रोभर अब बाहिर निस्किने छ र चन्द्रमाको सतह घुम्दै नयाँ जानकारी संकलन गर्नेछ ।

चन्द्रमाको दक्षिणी ध्रुव ठूला पहाड, खोंच, खाल्डाखुल्डी र अँध्यारो रहेको वैज्ञानिकहरु बताउँछन् । त्यहाँ पानी र जीवनको सम्भावनाबारे खोज तथा अनुसन्धान गर्ने उद्देश्यले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले १४ जुलाईको दिन श्रीहरिकोटाबाट चन्द्रयान–३ प्रक्षेपण गरेको थियो । यो चन्द्रयान ४० दिन लामो यात्रा पूरा गर्दै चन्द्रमामा सफल अवतरण गर्न सफल भएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन जोहनेस्बर्गमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान अवतरणको प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले भर्चुल माध्यमबाट सम्बोधन गर्दै चन्द्रयान अभियानमा संलग्न सबै वैज्ञानिक र देशवासीलाई बधाई तथा शुभकामना दिए ।