हतकडीसहित फरार भएका लामा पक्राउ

मूलखबर संवाददाता
बारा, १८ साउन

हतकडीसहित फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले विहिबार साँझ निजगढबाट नियन्त्रणमा लिएको छ । साउन १६ गते टांगियाबस्तीस्थित घरबाट हतियारसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामाआत्मसमर्पण गर्नका लागि निजगढ पुगेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । सोही क्रममा प्रहरीले निजगढ बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोही अनुसार निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ ।

केहि दिनअघि घरमा भरुवा बन्दुक र वन्यजन्तुको अंग भेला परे पछि प्रहरीव्दारा सोहि दिन नियन्त्रणमा लिएका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालय निजगढ तर्फ ल्याउने क्रममा स्थानीय महिलाहरुले बाटो छेकेर अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो भिडन्त भएको थियो । करिब तीन सयको सङख्यामा आएका महिलाहरुले प्रहरी टोलीमाथि ढुङगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई प्रहरीको भ्यानबाट खोसेर लगेका थिए । भिडन्तमा इलाका प्रहरी कार्यालय निजगढमा बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी सामान्य घाईते भएका थिए ।