अमेरिकाकाे चिडियाखानामा भाले गाेरिल्लाले बच्चा जन्मायाे, चकित परे कर्मचारी

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाको ओहायोस्थित एउटा चिडियाखानाका कर्मचारीहरूलाई गोरिलाले चकित बनाइदियो। उनीहरूले चार वर्षदेखि भाले ठानेको त्यो गोरिलाले बच्चा जन्माएपछि सबै अचम्ममा परे।

सन् २०१९ देखि कोलम्बस चिडियाखानामा राखिएको सली नाम दिइएको उक्त गोरिला बिहीवार बच्चासहित भेटिएको थियो।

चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूले नवजात गोरिला “स्वस्थ देखिएको” र सलीले पनि उत्कृष्ट मातृत्व देखाइरहेको बताएका छन्।

एउटा ब्लग पोस्टमा उनीहरूले सलीको स्वास्थ्य सधैँ राम्रो भएका कारण उसलाई कहिल्यै स्वास्थ्य परीक्षण आवश्यक नभएको उल्लेख गरेका छन्। त्यही कारण उनीहरू त्यो गोरिला पोथी भएको थाहा पाउनबाट चुकेका थिए।

दुर्लभ गोरिलाको चिडियाघरमा जन्म भएको पहिलो घटनाका रूपमा यसलाई लिइएको छ।

उक्त चिडियाखानाले भनेको छ, “सन् १९५६ यता ३४औँ गोरिला जन्मिँदा कोलम्बस चिडियाखाना गोरिलाको बच्चालाई स्वागत गर्ने पहिलो चिडियाखाना बनेको छ। जनावरको संरक्षण गर्ने हाम्रो महत्त्वपूर्ण कामकै एउटा पाटो यी गोरिला पनि हुन्।”

चिडियाखानाले हालै जन्मिएका बच्चाको पिता पहिचानका लागि डीएनए परीक्षण गरिने जनाएको छ।

सली ३९ वर्षको म्याक नामको भालेसँगको समूहमा बस्छे। तर यो समूहमा १० वर्षका कमोली र ६ वर्षका जेजे पनि बस्छन्।

कोलम्बस चिडियाखानाले सलीको बच्चाको लिङ्गबारे भने आफूहरू निश्चित भइसकेको जनाएको छ।

“त्यो पोथी हो। हाम्रो टिमले हेरेर र उसको तस्बिर जीवविज्ञान विज्ञहरूलाई पठाएर पनि निश्चित गरेको छ,” चिडियाखानाले भनेको छ।- बीबीसी