मन्त्री मोदी र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

मूलखबर संवाददाता
काठमाडौं, १३ असार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गबीच भेटवार्ता भएको छ ।

मंगलबार मन्त्रालयमा मन्त्री मोदी र राजदूत टियोङ्गबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध रहेको बताए । “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्धिपक्षीय सम्बन्ध र सहयोग अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ” राजदूत टियोङ्गले भेटका क्रममा भने ।

मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध घनिष्ट एवम् मैत्रीपूर्ण रहिआएको बताए । जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्य मान्यता नै बुहपक्षीय कोरिया नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री मोदीले भने, “यस सम्बन्धलाई अझ प्रागाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र कोरियाका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।”

दुवै देश र जनताको परस्पर हित र सम्बन्धलाई अझ प्रागाढ र बलियो बनाउनका लागि कोरिया सरकारसँग द्धिपक्षीय र बहुपक्षीयस्तरमा नजिकको सम्बन्ध कायम गरी काम गर्न चाहेको समेत मन्त्री मोदीको भनाई थियो ।

भेटका क्रममा राजदूत टियोङ्गले मन्त्री मोदीको आगामी असार २० गतेबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना पनि दिएका छन् । मन्त्री मोदी कोरियाको दोश्रो ठूलो सहर बुसानमा २० असारबाट आयोजना हुने ग्लोबल साइमउल अन्डंग मन्त्रीस्तरीय बैठकमा सहभागी हुँदै हुनुहुन्छ ।