सहिदमाता नमुनाकाे निधनले रूकुममा सन्नाटा
जनयुद्धको क्रममा आफ्ना दुइवटा छाेरा सहिद हुँदापनि विचलित नभई जनयुद्धमा सामेल भएकी सहिदमाता नमुनाकाे निधन भएको छ । रूकुम जिल्लाकाे सानीभेरी गाउँपालिका वडा नं ८ कि तुलसा बुढाथोकी `नमुना´काे असार १० गते निधन भएको हाे । उनको निधनले रूकुममा सन्नाटा छाएकाे छ ।
बुढाथोकीकाे २ मात्र छोराहरु कमानसिंह बुढाथोकी र छविलाल बुढाथोकीसहित ५ जना होनहार युवाहरुलाई तत्कालिन प्रहरीले एकै दिन (वि.सं. २०५५ कात्तिक २ गते) माओवादीको आरोपमा गोली ठोकेर गैरन्यायिक हत्या गरेकाे थियाे । साे घटनाले सिड्गो गाँउ शोकमग्न र भावविह्वल भएको थियाे । तर उनलेे अाफु विचलित नभई जनयुद्धमा सामेल भएकी थिइन् ।
उनकाे निधनपछि त्यतिबेलाकाे घटना स्मरण गर्दै अहिलेका माओवादी जिल्ला संयाेजक तथा प्रेस सेन्टर नेपालका संस्थापक नेता सचिन राेका लेख्छन्- म त्यतिबेला त्यस एरीयाको पार्टी प्रमुख, हामी पनि सम्हालिन मुस्किल मुस्किल हुन्छ । तर आफैले जन्माएका २ मात्र छोराहरु गुमाउदा पनि नमूना फुपु रत्तिभर विचलित हुनुहुन्न, आफ्नो अगाडि कसैलाई एक थोपा आँशु खसाल्न दिनुहुन्न ।सारा गाँउलेहरु र पार्टीका मान्छेहरुलाई सम्झाई बुझाई गर्नुहुन्छ ।छोराहरु शहीद भएपछि तिनको बदलामा आफू पनि युद्धमा पूर्णकालिन कार्यकर्त हुनुहुन्छ, सोही क्रममा घाइते पनि हुनुहुन्छ तर कहिल्यै थाक्नुहुन्न । सयौं शहीद परिवार र हजारौं कार्यकर्ताहरुलाई सम्झाउदै गाँउ गाँउ डुल्नुहुन्छ । उमेर ढल्कदै जान्छ, शरीर कमजोर हुँदै जान्छ तर पार्टीप्रतिको अगाध स्नेह र प्रतिवद्धता झन झन बलियो हुँदै जान्छ र अन्ततः भौतिक शरीर यस धर्तीमा विलिन हुन्छ सदाको लागि ।रुकुमेली माओवादी आन्दोलनको लागि शोकमय दिन २०८० असार १० गते आइतवार । भावपूर्ण श्रद्धाञ्जली फुपु (तुलसा बुढाथोकी क. नमूना) ।
उनको निधनमा श्रद्धाञ्जली दिने मात्रै हाेइन उनकाे शव बाेक्न समेत कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा पुगेका थिए ।
उनको निधनमा प्रेस सेन्टरका वर्तमान उपाध्यक्ष ध्रुव बुढाथोकी लेख्छन्-
माओवादी आन्दोलनमा नाम जस्तै नमुना हुनुहुन्थ्यो तपाई । तपाइको निधनको खबरले भावविहोल र स्तब्ध छु । महान जनयुद्धमा २ जना छोराहरू गुमाउदा पनि तपाईले देखाएको अद्वितीय त्याग, समर्पण, वलिदानी भावना र महान योगदानले जनयुद्धको सफलताको सुनिश्चित गरेको हो । जनयुद्धकालीन दिनमा तपाईजस्तै महान आमाहरुको प्रेरणाले हामीलाई आन्दोलनमा समर्पित बन्ने उर्जा दिएको थियो । सानीभेरी गाउपालिका वडा नं. ८ निवासी दिवंगत तुलसा बुढाथोकी (नमुना) आमाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईप्रतिको सम्मान र सम्झना आजीवन गरिरहनेछु आमा ।