सुनकोशी मरिन डाइभर्सनको सुरुङ आठ महिनामा आधा, १३ मध्ये ६ किलोमिटर खनियो

मूलखबर संवाददाता

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार आठ महिनामा सुरुङको काम ५० प्रतिशत सम्पन्न भएको हो । कुल १३.३ किलोमिटर लम्बाई रहने सुरुङको ६.६५ किलोमिटर काम सम्पन्न भएको हो ।

राष्ट्रिय गौरवका अन्य आयोजनाहरूको प्रगति न्यून रहेको बेलामा सुनकोशी मरिन डाइभर्सन आयोजनाको भने प्रगति राम्रो देखिएको छ । गत असोज २८ गतेबाट यस आयोजनाको सुरुङ खन्ने काम सुरु गरिएको थियो । टनेल बोरिङ मेशिनबाट टनेल खन्न सुरु गरिएकाले आठ महिनामै लक्ष्य अनुसारको प्रगति भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ मासिक पाँच सय मिटर टनेल खन्ने लक्ष्य राखेर काम सुरु गरेका थियौँ । कुनै महिनामा त नौ सय मिटरसम्म पनि टनेल खन्ने काम गरेका छौँ । त्यस कारण टनेल खन्ने काम छिटो भएको हो ।”

टनेल खन्ने क्रममा बीचमा दुई पल्ट काम रोकिएको उहाँको भनाइ छ । टनेल खन्ने क्रममा बम ब्लाष्टिङ् गर्दा पहिरो गएका कारण सुरुङ खन्ने काम बिचमा दुई पल्ट रोकिएको थियो । सुरुङ खन्नेक्रममा पहिरो जाँदा ३५ दिन काम रोकिएको थियो । यही रफ्तारमै काम भए तोकिएको २२ महिना अघि नै सुरुङ खन्ने काम सकिने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सुरुङ खन्ने काम यही रफ्तारमै खन्न सुरु भए तोकिएको २२ महिनाभित्र नै सम्पन्न हुनेछ । तर, अब महाभारत पर्वत पर्ने भएकाले केही समस्या आउन सक्नेछ ।” अहिले हेवकक्र्सको निर्माणको पनि ठेक्का लागेर काम सुरु भएको उहाँ बताउनुहुन्छ । मरिन डाइभर्सनको नदी नियन्त्रण कार्यको पनि एउटा प्याकेजको ठेक्का लागिसकेको छ । नदी नियन्त्रण कार्यलाई सात वटा प्याकेजमा विभाजन गरिएको छ । जसलाई प्रतिप्याकेज दुई किलोमिटरमा विभाजन गरिएको छ ।यस आयोजनाको समग्रमा भौतिक प्रगति भने १८ प्रतिशत रहेको उहाँ बताउनुहुन्छ । अघिल्लो आर्थिक वर्षमा नौ प्रतिशत मात्र प्रगति भएको आयोजनाको ११ महिनामा बढेर १८ प्रतिशत पुगेको हो ।

यो आयोजनामा ४६ अर्ब १९ करोड रकम खर्च हुने जनाइएको छ । यस आयोजनाले छ अर्ब एक करोड खर्च गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले यस आयोजनाका लागि चार अर्ब रकम विनियोजन गरेको छ । यस आयोजनामा आगामी यस आयोजना २०८४ सालको असोज महिनामा सक्ने लक्ष्य रहेको छ ।

सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध बाँधेर निर्माण गरी सुनकोशी नदीको पानी १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका –२, कुसुमटारस्थित मरिन खोलामा खसालिनेछ । आयोजनाबाट २८.६२ मेगावाट विद्युत् उत्पादन गरिने योजना रहेको छ ।

उत्पादित विद्युत् राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सब–स्टेसनमा जोडिने छ । बहूद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने छ ।