
रूकुम पश्चिमका सबै पालिकामा प्रेस सेन्टरले बुझायाे ध्यानाकर्षण पत्र
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा पत्रकारको पेशागत हकहित र प्रेस स्वतन्त्रताका विषयमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाका ६ वटै पालिकामा समेत संगठनका पालिका समितिहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रीय कार्यक्रम अनुसार संगठनले प्रशासन र पालिकाहरुमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
आज प्रेस सेन्टर नेपालले प्रधानमन्त्री सहित देशभरका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले सरकारले ल्याएको समानुपातिक विज्ञापन प्रणाली व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्न, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजान, अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय यथाशिघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।
भ्रष्टाचार विरुद्धको कदम र निर्णयप्रति ऐक्यबद्धता प्रकट गर्दै यस अभियानमा पछि नहट्न प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई आग्रह गरेको छ । संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धीहरुलाई थप संस्थागत गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न आग्रह गरिएको छ ।
साइबर कानूनमार्फत प्रहरी प्रशासनले पत्रकार तथा सञ्चार माध्यममा त्रास उत्पन्न गर्ने कार्य गरेकोले त्यसलाई रोक्न, पत्रकारको निःशुल्क उपचारको व्यवस्था र कोरोना संक्रमणको बहानामा श्रम समस्यामा पारिएका पत्रकारका लागि लेखनवृत्ति लगायतका व्यवस्था कार्यान्वयन गर्न र सिफारिस गरिएको पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै जिल्ला तथा स्थानीय तहबाट प्रकाशन÷प्रशारणका लागि बितरण हुने बिज्ञापन हाल राजधानी काठमाडौ तथा अन्य जिल्लाका मिडियाहरुमा गइरहेकोमा जिल्लाकै मिडियाले पाउनुपर्ने र जिल्लास्थित पत्रकारहरुको पेशागत सुरक्षाको साथै क्षमता बृद्धि र व्यवसायिकताको लागि नीति, कार्यक्रम र बजेट व्यवस्था तथा आवश्यक पहलको लागि समेत ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ ।
प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष ध्रुवविक्रम बुढाथोकी, जिल्ला अध्यक्ष देवकुमार ओली, प्रदेश सदस्य तुलसा रोका, जिल्ला सचिव मनिष खड्का, सह सचिव दिपेन्द्र महताराको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कार्यक्रममा पत्रकार महासंघका सचिव हिरा परियार, पत्रकार राजु लामिछोनेको पनि सहभागीता रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामै हल हुने खालका विषयमा आफुले पहल गर्ने बताउनुभयो । अन्य विषयलाई केन्द्रमा पठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । स्थानीय तहमा भने सम्बन्धित पालिका समितिका पदाधिकारीले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
