
भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्याे
भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुभएपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।
वथनाहादेखि विराटनगर–१८ बुद्धनगरस्थित नेपाल कस्टम यार्डसम्म आठ किलोमिटर दूरी तय गरी बिहीबार दिउँसो कार्गो रेल आइपुगेको हो ।
प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतका समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गरेका छन् ।
विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ ।
लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए ।
सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनः परीक्षण गरिएको रेल विभागले जनाएको छ ।
