
नेपालद्वारा ओमान ८४ रनले पराजित
एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । यो नेपालको ५० औं ऐतिहासिक वान डे पनि रह्यो । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।
जितका लागि ३ सय ११ रनको लक्ष्य पाएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन मात्र बनाउन सक्यो । ओमानका अन्तिम ब्याटर अकिब इलियास भने रिटायर्ड आउट भएका थिए । ओमानले कुनै पनि समय लक्ष्य पछ्याउने छाँट देखाएन । उसका लागि मोहम्मद नदिमले बनाएको ६५ रन नै सर्वाधिक उच्च व्यक्तिगत स्कोर रह्यो । उनले ८४ बलको सामना गरेर ७ चौका तथा १ छक्का प्रहार गरे ।
यस्तै सन्दीप गोउडले ५६ बलमा ३ चौका तथा २ छक्काको सहयोगमा ४६ रन बनाए । नेपाली बलरमध्ये सन्दीप लामिछाने सर्वाधिक सफल रहे । उनले ८ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । सन्दीपले ओमानमा आदिल सफिकलाई आउट गर्दै वान डे क्रिकेटमा आफ्नो सय विकेट पूरा गरे र सबैभन्दा कम खेल खेलेर सय विकेट लिने बलर पनि बने ।
