माओवादी सांसद भट्टराई टाेल टाेलमा मतदाता भेट्दै

मूलखबर संवाददाता
काठमाडौं

तपाईंले कुनै सांसदले टाेल टाेलमा पुगेर मतदाता भेटघाट गर्न हिँडेकाे देख्नुभएकाे छ ? सुन्नुभएकाे छ । सायद नहाेला । तर यहाँ त्यस्तै भएको छ ।

रौतहट क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य माननिय युवराज भट्टराई ‘समिर’ले आफ्ना क्षेत्रका नागरिकलाई उनीहरुकै टोलटोलमा गएर भेटघाट गर्ने अभियान चलाएका छन् ।

चुनाव जितेर गएरपछि नेताहरु फर्केर नआउने प्रवृत्ति देखेका र भाेगेका राैतहटका मतदाताहरू छक्क परेका छन् । कमरेड समीर नामले परिचित नेकपा माओवादीका युवा नेता केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज समेत रहेका सांसद भट्टराईले  नागरिकको गुनासो चिर्न अहिले आफ्नो क्षेत्रका विभिन्न टोलहरुमा गएर नागरिकसँग विकास निर्माण लगायतका विषयमा अन्र्तक्रिया गरिरहेका छन् ।

उनी भन्छन् -म जनताका कुरा बढि सुन्छु, समस्याको पहिचान गर्छु, चुनावमा उठाएका एजेन्डाहरूकाे वर्तमानको अवस्था जानकारी लिन्छु र सक्ने कुराहरू गर्ने प्रतिवद्वता जनाउँछु । उनले सांसद भएपछि ४ महिनामा थुप्रै विकास सम्वन्धि काम शुरू गरेका छन्, केही सम्पन्न हुने दिशामा छन् ।

अहिले नयाँ वजेट निर्माणको चरण भएकाले नागरिकका समस्याहरुका विषयमा अन्र्तक्रिया गर्ने, समस्याहरु बुझ्ने र त्यहीँ अनुसार वजेट निमार्ण गर्ने गरी नागरिक भेटघाटलाई तिब्रता दिएको भट्टराईको भनाइ छ ।

आफूहरुले मत दिएर जिताएका जनप्रतिनिधिहरु जितेर गएपछि नागरिकलाई चट्टक्क बिर्सेर हराउने, उनीहरुको समस्या, गुनासा नसुन्ने, भेट्नै गाह्रो हुने जनगुनासोलाई चिर्दै आफु ५ वर्ष नागरिककै घरआँगनमा नागरिकका कुराहरु सुन्दै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।

 

‘मैले भोट माग्न आउने क्रममा नागरिकहरुसँग आफु निरन्तर नागरिकको बीचमै रहने, भेटघाट गरिरहने वाचा गरेको थिए’ उनले भने, ‘मैलै आफ्नो सो वाचालाई पुरा गर्दैछुँ । म आफ्नो कार्यकालभरी यसलाई निरन्तरता दिइरहनेछुँ।’

नेताहरु चुनाव जितेर गएपछि अर्को चुनावसम्म हराउने प्रवृतिबाट दिक्क भएका नागरिकहरुलाई प्रदेश सभा सदस्य भट्टराईको यो कदमबाट केही आश जगाएको स्थानियको बुझाइ छ ।

भट्टराईले कम्तिमा ६ महिनामा १ टाेलमा दाेहाेर्याएर पुग्ने याेजना बनाएका छन् । चुनावमा उठ्दै गर्दा प्रारम्भिक अाँकडामा पराजित हुन सक्ने अवस्थालाई उनले परिणाममा ५ हजार बढिकाे मतान्तरमा निर्वाचन जित्न सफल भएका थिए ।

उनले प्रत्येक दिन न्युनतम २ टाेलमा पुगेर भेटघाट गरिरहेका छन् । संसद बैठक बाहेक अन्य दिन टाेल भेटघाट र जनताकै साथमा रहने उनको याेजना छ ।

सांसद भट्टराईकाे टाेल भेटघाटले मतदाताहरू अचम्मित भएका छन्, बिरू अन्सारी भन्छन्- `हामीले यस्तो पनि हाेला भनेर साेचेका थिएनाैं, असाध्यै खुसि लागेकाे छ । ´