केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने

मूलखबर संवाददाता
काठमाडौं

केन्द्रमा नयाँ समीकरण बने पनि बागमतीको मुख्यमन्त्री नफेरीने वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले बताउनु भएको छ।

यस्तै मन्त्री श्रेष्ठले ‘गठबन्धन तलमाथि हुँदै गर्दाखेरी वागमती प्रदेशमा केही असरहरु त पर्लान् । म पर्दैपर्दैन भन्दिनँ । तर बागमती प्रदेशको सरकारको नेतृत्व चाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।’

नेकपा एमालेसँगको गठबन्धन कायम रहेको बेलामा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेससहितको गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि समीकरण फेरबदलको गृहकार्य भइरहेकोबेला मन्त्री श्रेष्ठले आफूहरुले राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने बताउनु भयो । तर जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्न नसक्ने पनि उहाँले उल्लेख गर्नु भयो ।

सरकारमा रहने कि नरहने भन्ने विषयमा एमालेका मन्त्रीहरुको फरक फरक अभिव्यक्ति सार्वजनिक भएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गरेर जाऔं भन्ने हाम्रो अनुरोध रहन्छ । तर उहाँहरु बस्न चाहनुभएन भने त जर्बजस्ती बस्नुस् भनेर हामीले बाँधेर राख्न पनि सक्दैनौं ।’

बागमती प्रदेश सरकारको समीकरण कस्तो हुन्छ भन्ने विषय एमालेको निर्णयमा भर पर्ने उहाँले बताउनु भयो । ‘तर अहिले नै बागमती प्रदेश सरकारको नेतृत्व फेरबदल हुँदैन,’ मन्त्री श्रेष्ठले जानकारी गराउनु भयो ।

मन्त्री श्रेष्ठले गणतन्त्र र संघीयताविरुद्ध माहोल तयार गर्ने काममा युट्युब प्रयोग भइरहेको भन्दै त्यसलाई नियमन गर्न आबस्येक रहेको  समेत बताउनु भयो ।