मकवानपुरका बस्तिमा सांसद माझीलाई आत्मिय स्वागत,

मूलखबर संवाददाता
मकवानपुर, १७ माघ 

मकवानपुर, १७ माघ
निर्वाचन पश्चात् पहिलोपटक मकवानपुर पुगेकी प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेललाई स्थानीयवासीले भव्य स्वागत, सम्मान र सद्भाव व्यक्त गरेका छन् ।

जनयुद्धको समयमा मकवानपुरकाे एरिया इन्चार्जकाे रूपमा काम गरेकी सांसद माझीलाई बकैया गाउँपालिका अन्तरगतका माझी वस्तीमा भव्य स्वागत गरिएको हाे ।

मकवानपुरका  हात्तीखोला, छतिवन, जुरेली, जुइना, अधेरी, पावस र श्रीपुर लगायतका वस्तीमा  पुगेकी उर्मिलालाई स्थानीय जनताले फुल माला, टीकाले स्वागत गरेका हुन् । काभ्रेमा जन्मेकी उर्मिलाले जनयुद्धको समयमा काभ्रे, मकवानपुर र ललितपुर जिल्लामा भुगाेलकाे एरिया इन्चार्जकाे भुमिकामा जनतालाई संगठित, प्रशिक्षित र परिचालन गर्ने गर्दथिन् । उनी त्यस क्षेत्रमा क.उमाकाे नामले परिचित छन् ।

उनलेे आफुले यस क्षेत्रमा आइपुग्दा जनयुद्धकालिन आत्मियता पाएकाे बतनउँदै आफुले यस क्षेत्रकाे विकास र समृद्विमा सक्दाे पहल गर्ने बताइन् । उनलेे माझी समुदायलाई राज्यले अत्यन्तै उपेक्षा गरिरहेको अवस्थामा नेकपा माओवादीकाे नेतृत्वमा सञ्चालित जनयुद्धले माझी समुदायलाई चेतना जागृत गरेकाे र माओवादीकै कारण नै माझी समुदायले अधिकार प्राप्त गरेकाे बताइन् ।

सहिदका पदचाप पछ्याउँदै निर्वाचन पछि पहिलोपटक मकवानपुरका वस्तिमा माझी समुदायकी महिला सांसद उर्मिला पुग्दा उनीसँग खुसि साँट्ने र बधाई दिनेमा युवा, महिला र बुढा बाआमाहरू थिए । सांसद उर्मिलाले आफुलाई जनयुद्धकालमा दुश्मनसँग लुकाउँदै र माया गर्दै बचाएकाे यश क्षेत्रलाई कहिल्यै विर्सन नसक्ने बताइन् ।

सांसद माझीले आफू निरन्तर माझी समुदाय लगायत पिछडिएका समुदाय र वर्गकाे लागि लडिरहने बताएकि थिइन् । उनी माझी राष्ट्रिय मुक्तिमोर्चाकि महासचिव हुन् । उनी लमजुङबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनीसँगै माझी समुदायकी नेतृ तथा बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीलाई स्वागत र सम्मान गरिएको थियाे ।