
आगामी चैत २ देखि ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) हुने
आगामी चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आयोजना हुने भएको छ ।
महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको छ । महोत्सवमा विगतमा झैं यस पटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।
नेपाल फिलम एण्ड कल्चर एकडेमीले बुधबार होटल अरन्या बुटिकमा एक समारोहका बीच महोत्सव घोषणा गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, नीर शाह, नवराज केसी, गौरी मल्ल, दीपाश्री निरौला, निर्मल शर्मा, प्रशंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम लगायतको उपस्थितिमा महोत्सव घोषणा गरिएको हो ।
आयाेजक संस्थाका केपी पाठकका अनुसार यसवर्ष निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गरिनेछ । क्यूएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल, ललितपुरको लविङ मल र भक्तपुरको क्यूएफएक्स् हलमा फिल्म देखाइनेछ ।
