माघे सक्रान्तिमा तारूकामा ४८ हल गाेरू जुधाईँदै

मूलखबर संवाददाता
काठमाडौं, १ माघ

माघे संक्रान्तिको अवसरमा  आज नुवाकोटमा अनाैठाे जात्रा हुने गर्दछ । नुवाकोटको विभिन्न स्थानहरूमा गोरु जुधाई मेला हुँदैछ। नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा ४८ हल गोरु जुध्ने बताइएको छ । गाेरू जुधाई प्रतियोगिताका विजेताहरूलाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार राखिएको छ।

आइतवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ।

अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित छ। यस पटक तारुकमा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरूले विशेष रुपमा आयोजना गरिएको जनाएका छन्। सदियौंदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यस वर्ष भने तारुकाको पौरख, नेपालको गौरव भन्ने मूल नाराका साथ आइतबार र सोमबार गोरु जुधाउने कार्यक्रम  छ।

तारुकामा २८, पन्चकन्यामा ११ र वेत्रावतिमा नौ हल गोरु जुधाउने कार्य सुरु भएको छ। पन्चकन्या गापा- ३ पिपलडांडामा विजेता गोरु धनीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक समितिका संयोजक गणेश खनालले जानकारी दिए।

ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तारुकामा गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिए।