कर्णाली प्रदेश मुख्यमन्त्री बनेका राजकुमार शर्मा काे हुन् ?
रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (२) बाट निर्वाचित राजकुमार शर्मा कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका छन् । उनी अहिले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन् । यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख रहेका शर्मा बुधबार २५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई पार्टीमा कमरेड आर्ट नामले पनि चिनिन्छ । उनी सरल, मिजासिला र सर्वहारावर्गीय आचरण भएका नेताका रूपमा स्थापित छन् ।
२०२८ सालमा जन्मिएका शर्मा चौरजहारी नगरपालिका—१४ साक्चाका टीकाराम शर्मा र यसोधा शर्माका कान्छा छोरा हुन् । प्रतिभा केसीसँग बैवाहिक बन्धनमा बाँधिएका उनी एक छोरीका अभिभावकसमेत हुन् । उनी २०४१ सालमा स्कुल पढ्दापढ्दै अनेरास्ववियुको राजनीतिमा संलग्न भएका थिए । २०५०/०५१ सालमा रुकुम–रोल्पामा सञ्चालित ग्रामीण वर्ग संघर्षको थालनी गर्दै सशस्त्र विद्रोहका बेला पूर्णकालीन कार्यकर्ता भएर लागेको शर्माले बताए । उनले २०४८ सालबाट मोटो मशालको पार्टी सदस्यता लिएर विद्यार्थी राजनीति थालेका थिए । २०५० सालमा महतको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम गरेर सशस्त्र युद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रहेको उनका समकालीनहरु बताउँछन् । उनले नै ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए भने ०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा पनि उनी सहभागी भए ।
२०५४ देखि ०६१ सालसम्म उनले साविक कर्णालीका विभिन्न जिल्लाहरुको सेक्रेटरीदेखि इन्चार्जसम्मको जिम्मेवारी पाएका थिए । शान्ति प्रक्रियापछि भने थारुवान राज्य समिति (दाङ–कञ्चनपुर)को प्रमुख भए भने ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरे । उनीसँग माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव छ । २०७४ सालमा उनी जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख बने । त्यसबेला उनले सबै स्थानीय तहसँग सम्बन्ध स्थापित गरी विकास–निर्माण र कानुन निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मुख्यमन्त्रीकाे जिम्मेवारी सम्हाल्दै गर्दा शर्मालाई आफ्नाे पार्टी, मतदाताका अलावा सबै राजनीतिक दल र आम मतदाताका अपेक्षा पूरा गर्नुपर्ने चुनाैती छन् ।