आलोपालो नभए प्रदेश १ मा माओवादी सरकारमा जाँदैन : प्रदेश अध्यक्ष नेम्वाङ

मूलखबर संवाददाता
काठमाडौं, २५ पुस ।

मुख्यमन्त्री सहितका मुख्य पदमा आलोपालोमा सहमति नभए प्रदेश १ मा माओवादी सरकारमा नजाने सम्भावना देखिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्का प्रदेश १ का अध्यक्ष हर्क नैम्वाङले मुलखबरसँग भने – ‘हामी अपमानजनक तवरले सरकारमा जाँदैनौं ।’ उनले भने- माओवादी केन्द्र र एमालेले आधा आधा कार्यकाल मुख्य मन्त्री, सभामुख उपसभामुखमा भागबण्डा गरिनुपर्दछ अन्यथा हामी बाहीरै बसेर सरकारलाई समर्थन गर्न बाध्य हुन्छौं ।

सत्तारूढ दलका शीर्ष नेताहरूको निर्णय प्रदेश १ को भावना अनुसार नआएको बताउँदै उनले भने- ‘प्रदेश १ सत्ताको अवसरको हिसावले सधैं पछाडि छ, हामीले आलोपालो र पहिलो कार्यकाल नै माओवादीले पाउनुपर्छ भनेका हौं, नेताहरुले सकारात्मक छलफल पनि भएको छ भनेर भन्नुभएको छ, नभए त के गर्ने भन्ने विषयमा सोच्नैपर्छ ।’ मुख्यमन्त्रीमा प्रदेश १ का माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना विपरीत निर्णय गरेकाले तत्काल सरकारमा नजाने सम्भावना रहेको माओवादी केन्द्रले जनाएको हो।

माओवादी केन्द्रका प्रदेश अध्यक्षले यस प्रदेशका प्रदेश सांसदहरूको भावना विपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने सम्भावना बढि रहेको बताएका हुन् ।

उनले सत्तारूढ दलका शीर्ष नेताहरूले यस प्रदेशमा सरकारको नेतृत्वको विषयमा गरेको निर्णय सच्याउन माग गरे। एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि संसदीय दलको बैठकले समर्थन गर्ने निर्णय गरिसकेकाले तत्काल त्यो फिर्ता गर्न नमिल्ने अवस्था रहेको तर यथास्थितिमा माओवादी केन्द्र सरकारमा सहभागी हुन नसक्ने नेम्वाङको भनाइ थियो ।