शीतगंगाकाे अभियान: गर्भवती महिलाहरूको भिडियो एक्सरे गाउँमै शुरू

मूलखबर संवाददाता
काठमाडौं

अर्घाखाँचीको शीतगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर भिडियो एक्सरे गर्नका लागि सन्धिखर्क तथा बुटवल जानु पर्ने बाध्यतामा रहेका शितगंगाका गर्भवती महिलाको सुविधाको लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरी गर्भवतीको निःशुल्क स्वास्थय परीक्षण सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र खनालले बताए।

नगरपालिकाको वडा नम्बर १ को सुवर्णखाल मन्दे्रको सहरी स्वास्थ्य केन्द्रमा गर्भवतीहरूको स्वास्थ्य परीक्षण गरी सुरु गरिएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम १,२, ३ र ४ नम्बर वडामा सम्पन्न भएको छ। यो कार्यक्रम नगरपालिकाभित्र रहेका सबै १४ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ।

गर्भवती जाँच र अल्ट्रासाउन्ड गर्नकै लागि सन्धिखर्क तथा बुटबलमा महँगो खर्च गरेर जान नपरोस् स्वास्थ्य सेवा गाउँमै प्रदान होस् भन्ने उद्देश्यले गाउँमै सेवा दिन थालिएको नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए। उनले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाउँहरूमा चिकित्सकसहितका अन्य विभिन्न शिविरसमेत सञ्चालन गर्ने तयारी रहेको बताए। महिलाहरूको प्राथमिक उपचारमा समेत यसले सेवाले सहजहुने उपप्रमुख गीता भाटको भनाइ छ। उनले ग्रामीण क्षेत्रका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि ग्रामीण अल्ट्रासाउन्ड मार्फत जाँच्ने र अवस्थाअनुसार नियमित चेकजाँच गरी नियमित गर्भजाँचका लागि यो कार्यक्रम प्रभावकारी हुने बताइन्।

शीतगंगा नगरपालिका–१, २, ३ र ४ नम्वर वडाका ५६ जना गर्भवती महिलाको स्वास्थ्य चेकजाँच र अल्ट्रासाउन्ड गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नमनारायण वेल्वासेले बताए। उनीहरूको अवस्था सामान्य रहेको डाक्टर शुभेक्षा शर्माले बताएकाे खबर अन्नपूर्णमा छ ।