
दैनिक बाँदर धपाउनमै व्यस्त सिन्धुपाल्चोक पाँच गाउँका बासिन्दा
सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँच गाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरू दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् ।
ठूलो सङ्ख्यामा आउने बाँदरले गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत बाली नोक्सानी गर्नाका साथै बालबालिकाहरू समेत असुरक्षित हुन थालेपछि पिस्कर, धुस्कुन, चोकटी, तौथली र टेकानपुरका बासिन्दा दिनहुँ बाँदर लखेट्ने काममा व्यस्त हुन थालेका छन् ।
हिउँदे बाली, तरकारी तथा फलफूल नोक्सान गरेपछि बाँदर लखेट्ने अभियान नै चलाइएको पिस्करका पृथ्वीजङ्ग पाण्डेले बताए । वन्यजन्तु संरक्षण ऐनअनुसार बाँदर मार्न नपाइने भएकाले स्थानीयवासीको समूहले बाँदर लखेट्न समितिसमेत गठन गरेको उनले बताए ।
धुस्कुनका चन्द्रबहादुर विकका अनुसार दुई वर्षदेखि बाँदरले बढी दुःख दिन थालेको हो । उनले केटाकेटीलाई जोगाउनसमेत मुस्किल परेकाले बाँदर धपाउने अभियान चलाइएको बताए ।-रासस
