लमजुङका दुबै प्रदेशमा गठबन्धनका उमेदवार विजयी, (क) मा टकराज र (ख) मा भेषबहादुर
लमजुङ जिल्लाकाे प्रतिनिधिसभामा गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरूङले विजय हाँसिल नगरेपनि दुबै प्रदेशमा गठबन्धनका साझा उमेदवारहरू विजयी भएका छन् । प्रदेश सभा क मा गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका नेता डा. टकराज गुरुङ निर्वाचित भएका छन् भने प्रदेश सभा ख मा पनि गठबन्धनकै उमेदवार नेपाली काँग्रेसका नेता भेष बहादुर पौडेल निर्वाचित भएका छन् । दुबै उमेदवारले माओवादी सहित गठबन्धनका दलहरूकाे सबै मत प्राप्त गरेर विजय हाँसिल गरेका हुन् ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लमजुङको प्रदेश सभा क तर्फ नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका डा. टकराज गुरुङले निकटतम प्रतिद्वन्दी एमालेका जमिन्द्रमान घलेलाई १ हजार १ सय ६१ मतले पछि पार्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा क बाट निर्वाचित गुरुङले १८ हजार ५ सय ४ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका जमिन्द्रमान घलेले १७ हजार ३ सय ४३ मत प्राप्त गरेका थिए । प्रदेश सभा १ मा कुल ३८ हजार तीन सय ८४ मत खसेकोमा नौ सय ४८ मत बदर भएको छ ।
यसअघि २०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा यीनै दुईजना चुनावी मैदानमा रहेका थिए । उक्त समयमा एमालेका जमिन्द्रमान घलेले ७ सय ९८ मतले गुरुङलाई हराउँदै संविधान सभा सदस्य बनेका थिए ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेश सभा क तर्फ राप्रपाकी अप्सरा शाहले १ हजार १८ मत पाएकी छन् भने मंगोल नेश्नल अर्गनाइजेशनका बृखबहादुर तामाङले ४ सय ५६ र जसपाका सरस्वति गुरुङले १ सय १५ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेश सभा ख तर्फ ७ सय ५४ मतले एमालेका उमेदवार कृष्णप्रसाद अधिकारीलाई पछि पार्दै नेपाली काँग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेल निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५ सय ५७ मत पाएका छन् भने एमालेका अधिकारीले १८ हजार ८ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन् ।
प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले एक हजार नौ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले तीन सय १४, जनता समाजवादी पार्टीका युवराज दुराले दुई सय ४१ मत र कांग्रेस (बिपी) का नवराज बसौलाले एक सय ४५ मत प्राप्त गरेका छन् ।